सडक देखी मामाघर सम्म

Posted by Narendra Raule | Posted in Blogging | Posted on 24-06-2012-05-2008

1

नरेन्द्र रौले, हेटौंडा

‘नमस्ते’,
उज्यालो अनुहार लगाउदै जो कोहीलाई उनीहरु अभिबादन गर्छन् । र अलिकति आत्मियता बढेपछि आगन्तुकहरुलाई ‘मामा हजुर’ भन्दै सम्बोधन गर्छन् । प्यारले यसरी सम्बोधन गरेको सुन्दा खुब मीठो अनुभुति हुन्छ । निश्चल हाँसो हास्ने यिं अबोध अनुहारहरुको बास कुनै बेला सडकमा हुन्थ्यो । सडकमै खेल्थे, सडकमै खान्थे र रमाउँथे । त्यही नै उनीहरुका लागी संसार थियो । आफ्नै संसारमा मस्त थिए । तर अचानक यतिबेला उनीहरुको जीवनको बाटो फेरिएको छ ।

सडकमा अभाब र कष्टपूर्ण जीवन भोगिरहेका १४ जना वालवालिकाहरु अहिले हेटौंडाको ‘मामाघर’ मा आईपुगेका छन् । एउटै घरमा मिलेर बस्छन, सँगै स्कुल जान्छन्, बारीमा काम गर्छन्, फुर्सदमा टेलिभिजन हेरेर, घुमेर रमाईलो गर्छन् ।

समिर लामा, १० तिनै मध्येका एक हुन् । जसले ६ महिना भन्दा बढी सडकको जीन्दगी बिताए । सायद उनले आमाले दिनहु नपिटेको भए उनी घर छाड्ने थिएनन् । एकदिन कतैबाट समिरले साइकल चोरेर ल्याए । त्यो थाह पाएपछि आमाले बेस्सरी कुटिन् । त्यो कष्ट झनै सहन नसकेर उनी घरबाट भागे । अब कता जाने ? पदमपोखरी ४ भोर्ले, मकवानपुरका समिरको बाल मस्तिष्कले अत्तोपत्तो पाउन सकेन । अनि उनी सडकमा पुगे । गढि, मकवानपुरका राजु अधिकारी पनि समिरकै बाटोमा हिंड्न बाध्य भए । घरमा बुबाले रक्सी खाएर कुट्न थालेपछि राजुलाई असह्य भयो । भागेर उनी काठमाडौं पुगे । ६ वर्ष सम्म राजुले पनि सडकमै दिनहरु गुजारे । यहि बिचमा उनका बुबाको मृत्यु भएको खबर आयो । उनलाई झन् पीर पर्‍यो ।

‘मामाघर’ आईपुगेका सबै वालवालिकाहरु एउटै कारण सडकको जीवन रोज्न बाध्य भए । घरमा आमाबुबाले अनाबश्यक रुपमा कुट्न, पिट्न थाले । उनीहरुलाई असह्य भयो । जब मानिस माया, प्रेम र स्नेह पाउदैन अनि उ भौतारिन्छ । त्यसपछिको जीवन एकदम पीडादायि हुन्छ । कालिखोला, मकवानपुरका राजुको कुराबाट धेरै कुरा थाह हुन्छ । ६ वर्ष कसरी उनले सडकमा बिताए होलान् ? ‘मागेर, कतिलाई लुटेर, कतिलाई कुटेर’ उनले भने, ‘मधेसिलाई फलफूल मागिन्थ्यो । नदिए थर्काउने, लुट्ने सम्म गथ्र्यौं ।’ डिस्कोमा नाँच्ने केटीहरुसँग मागेको पैसाले उनको गोजिमा टन्न पैसा हुन्थ्यो ।

सडकमा रहदा उनीहरु आफूलाई ‘डन’ ठान्छन् । विदेशिहरुसँग पैसा माग्ने शैली नै बेग्लै हुन्थ्यो, ‘हेलो सर नो मदर, नो फादर, गिभ मि वन डलर ।’ भनेर हात थापेपछि विदेशिले पैसा दिन्थे । तर त्यसलाई उनले फालिदिन्थे । ‘त्यत्रो लामो पैसाले के गर्ने ? पैसा हो कि होईन नचिनेपछि फालिदिन्थें ।’ यसरी जुटाएको पैसाले डेनडा्रइड किनेर सिध्याउथे । ‘डेनडा्रइड खाएपछि झ्याप भईन्छ नि ।’ समिरले फ्याट्ट भने । ‘हो, यो खाइरहदा सम्म भोक लाग्दैन । पिटेपनि केही फरक पर्दैन ।’ राजुले आफ्नो अनुभब सुनाए । तास खेल्नु, चुरोट खानु, गल्लीगल्लीहरु चहार्नु, झगडा गर्नु त उनीहरुलाई कुनै नौलो कुरा लाग्दैन । फलामका रडहरु, मोबाइल लगायत सामान चोरेर सस्तो मुल्ययमा बेच्नु त झन उनीहरुका लागि सामान्य नै लाग्छ । ‘के गर्नु बाच्नै पर्‍यो । हामी कवाडी बेचेरै गुजारा चलाउनुपथ्र्यो ।’ कोल्वी ७ वाराका रविन पाठक, १४ ले आफ्नो बाध्यता पोखे ।

अहिले यिनै रविनको दैनिकि फेरिएको छ । ‘म त च्वाँक केटीसंग बिहे गर्छु ।’ उनले लामो हास्दै भने, ‘अनि थाह छ ? विदेश जान्छु र पैसा टन्न कमाउछु ।’ उनलाई लाग्छ, मिहिनेत गर्‍यो भने त पैसा कमिहालिन्छ । उनले डा्रइभर बन्ने लक्ष्य लिएका छन् । उनीहरु रमाइलो, हासो ठट्टा गर्न गर्न माहिर छन् । ‘मेरो त लभ परेको छ ।’ गोरो बर्णका समिरले हास्दै भने, ‘म अब दस वर्षपछि बिहे गर्छु ।’ जसरी पनि फोटोग्राफर बनेर छाड्ने सपना छ उनको । यि सबैजनाको मुहारमा उनीहरुकै प्यारो मामाले खुसि छरिदिएका हुन् । ५२ दिन सम्म उनीहरुसंगै सडकमा सुतेर उनीहरुका दुख, पीर, ब्यथा र संबेदनालाई हेटौंडाका अपर्ण पराजुलीले खोतले ।

खासमा एमएको थेसिस गर्ने क्रममा अपर्णले यि वालवालिकाहरुलाई भेटेका थिए । अरुहरुले सडक बालवालिका भनेर लखेट्ने, पानी खन्र्यादिने, कुट्ने गर्थे । तर अपर्णले खानेकुरा दिएर फकाए । उनीहरुकै मुखबाट दुख र पीडाका कथा सुने । संगै बस्दा, रहदा यति आत्मियता बढ्यो कि, उनीहरुबिच मामा र भान्जाको साइनो गाँसियो । र, एक अर्कासँग अलग हुनै सकेनन् । त्यसपछि मामाघरको जन्म भयो ।

माया, प्रेम, स्नेह बाँड्दा सबैको प्यारो बन्न सकिदो रहेछ । र यी कुरा जति बाँड्यो त्यति बढ्ने रहेछन् । यसै कारण अपर्ण अहिले सबैका प्यारो मामा बन्न पुगेका छन् । हेटौंडाका सबै मानिसहरु उनलाई मामा भनेर बोलाउछन् । सडकमा कोही नया वालवालिका भेटियो भने, उनलाई खबर आउछ । ‘तपाईको भान्जा भेटिएको छ । लिन आउनुहोला ।’ ‘भित्रि मन देखी गरेको राम्रो कामको परिणाम सकारात्मक हुदो रहेछ ।’ अपर्णले भने, ‘हामी सबै बराबरी छौं । त्यसैले एउटै छानो मुनि अटाएका छौं ।’ साँच्चिकै सहयोग गर्ने मन भए सबैले साथ दिने रहेछन् । ०६८ मा जन्मिएको मामाघर परियोजनालाई सबैले सहयोग गरिरहेका छन् । उनले पढाउने कलेजका विद्यार्थीहरु एउटा एउटा आलु, प्याज, एक मुठि चामल ल्याईदिन्छन्, अरुले पनि सकेको सहयोग गर्छन् । यहाका प्रत्येक टोल विकास समितिसँग अब  ’एक घर- एक मुठि चामल’ अभियान सुरु गरिदैछ । हेटौंडा नगरपालिकाले सबैजनालाई निशुल्क पढाउने ब्यबस्था गरिदिएको छ । नपाकै सहयोगमा उनीहरुले कापी, कलम, किताब र ड्रेस पाएका छन् ।

आम मानिसहरु चिन्ने गरेका पहिलेका सडक बालवालिकाहरु अहिले पुरै फेरिएका छन् । यहाको कलिउड कला केन्द्रमा नृत्य सिक्दैछन् । केही अघि योगा पनि सिके । विदाका दिन नया ठाउ घुम्न जान्छन्, बारीमा तरकारी र फलफूलका बोटहरु रोपेका छन्, आफै गोडमेल गर्छन् । यहा नआएको भए टन्न माल खाएर सडकमा लडिरहेका हुन्थ्यौं । ‘मोज गर है केटा हो, मोज गर ।’ आपस आपसमा उनीहरु यसरी ठट्टा गर्छन् ।

Comments posted (1)

Nice article.

Write a comment